काठमाडौं उपत्यकामा पछिल्ला दिनमा ट्राफिक जाम अत्यधिक बढेको छ । सवारी साधनमा यात्रा गर्ने सवारी चालक तथा यात्रुले एक चोकदेखि अर्को चोकसम्म पुग्न पनि घण्टौं जाममा बस्नुपर्ने भएको हो ।
सवारी साधन दिन प्रतिदिन थपिने तर सरकारले सडक मर्मतसम्भार तथा विस्तारमा ध्यान नदिँदा जाम बढेको हो । काठमाडौं उपत्यकाका सडकभरि खाल्डाखुल्डीका कारण पनि जाम थपिएको छ । चोक–चोकमा ट्राफिक लाइट हुँदा सवारी साधन व्यवस्थित रूपमा आवातजावत हुने भए पनि उपत्यकाका सबै चोकमा ट्राफिक लाइट बिग्रिएर थन्किएका छन् ।
सरकारले पानी जहाज, रेलको सपना देखाइरहे पनि सार्वजनिक यातायात, विद्यमान सडकको मर्मतसम्भार र विस्तारजस्ता कुरामा भने कम चासो दिने गरेको छ ।
नेपाल अटोमोबाइल एसोसिएसन (नाडा)का उपाध्यक्ष प्रकाश कपुतले भौतिक पूर्वाधारलाई व्यवस्थित बनाउन नसकेको बताउँछन् । ‘हामीले ट्रान्सपोर्टेसनका लागि रेलवे, पानी जहाजको कुरा गरिरहेका छौं तर अहिले भइरहेकैलाई व्यवस्थित बनाउनेमा त्यति ध्यान दिएका छैनौं,’ कपुतले भने ।
ट्राफिक प्रहरीका अनुसार ट्राफिक लाइट नहुँदा पनि जाम थपिएको हो । १२ लाख बढी सवारी गुडिरहने काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी हातकै इसारामा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् । ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनामा चुनौती थपिएको छ भने पैदल यात्रु र सवारी चालकले पनि अनावश्यक हैरानी खेप्दै आउनुपरेको छ ।
उपत्यकाका कोटेश्वर, त्रिपुरेश्वर, टेकु, माइतीघर, थापाथली, गौशालामा अत्यधिक जाम हुने गरेको छ । यी स्थानहरूमा कार्यालय समयमा एक घण्टासम्म जाम हुने गरेको सवारी चालक तथा यात्रुको गुनासो छ । कोटेश्वरको जाम जडीबुटी र तिनकुनेसम्म हुने गरेको छ । बीपी राजमार्गबाट सवारी बाहिरिने र भित्रिने नाकाका रूपमा सवारी चाप हुँदा कोटेश्वरमा जाम बढेर गएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६