लण्डन । चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’हरुका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई बेलायतमा अभिनन्दन गरिएको छ । लमजुङ समाज युकेले लण्डनमा भव्य कार्यक्रम गरी निर्देशक पाण्डे र निर्मात्री गैरेलाई सम्मान गरेको हो । बेलायतको अल्ण्डरसटमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष बोगत गुरुङले लमजुङमा जन्मेर संसारभर नेपालको नाम राख्न सफल भएको भन्दै निर्देशक पाण्डे र उहाँकी धर्मपत्नीसमेत रहेकी निर्मात्री गैरेलाई सम्मानपत्रसहित सम्मान गर्नुभएको हो । कार्यक्रममा लमजुङ सेवा समाजका सल्लाहकार एकेन्द्र गुरुङले निर्देशक पाण्डेको व्यक्तित्वका बारेमा चर्चा गर्दै आगामी दिनमा पनि उत्कृष्ट डकुमेन्ट्री निर्माणका लागि शुभकामना दिए । कार्यक्रममा लमजुङ समाजका साथै आमा समूहका तर्फबाट उहाँलाई सामूहिक रुपमा उहाँहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा ‘भाग्यले बाँचेकाहरु’ पनि प्रदर्शन गरिएको थियो । ‘भाग्यले बाँचेकाहरु’ हेर्दा धेरैको आँखा रसाएका थिए ।
‘भाग्यले बाँचेकाहरु’ बेलायतको शहर शहरमा
यसैबीच भाग्यले बाँचेकाहरु बेलायतको बिभिन्न शहरमा प्रदर्शन हुँदैछ । आइतबार उत्तरी आयरल्याण्डको बेल्फास्टमा नेपाली समुदायले प्रदर्शन गरेको छ । प्रदर्शनमा भाग लिन ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक पाण्डे र निर्मात्री गैरे उत्तरी आयरल्याण्ड पुगेका थिए । यसैगरी, सहारा क्लव युकेले आगामी शनिबार साँझ ७ उलवीचस्थित ट्रामसिड थियटर र आइतबार साँझ ७ बजे अल्डरसटस्थित एम्पाएर बैंक्वटमा प्रदर्शन हुँदैछ । गत साता बेलायतको संसदमा भाग्यले बाँचेकाहरु प्रदर्शन भएको थियो । भूकम्पमा चमत्कारिक रुपमा बाँच्न सफल नेपालीहरुको कथामा बनेको ‘भाग्यले बाँचेकाहरु’ एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ भने विश्वका १३ वटा भाषामा अनुवाद भएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०७४