बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीबाट सहायक वन अधिकृत र एक जना बिचौलियालाई ६५ हजार रुपैयाँ घूस रकमसहित पक्राउ गरेको छ ।
बिहीबार पक्राउ पर्नेमा प्रतापपुर–सुस्ता सबडिभिजन वन कार्यालयका प्रमुख परशुराम चौधरी र बिचौलिया मनोजकुमार शर्मा छन् । दुवै जनालाई सदरमुकाम परासीस्थित जिल्ला सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगको कार्यालय बुटवलले जनाएकाे छ ।
वन क्षेत्रबाट अवैधरुपमा बालुवा चोरी गरेर ल्याएको आरोपमा डिभिजन वन कार्यालयले १० दिनअघि तीनओटा ट्याक्टर फेचुवा गाउँबाट नियन्त्रणमा थियो । तीमध्ये एक ट्याक्टरधनीको मुद्दा मिलाइदिने भन्दै सहायक वन अधिकृतले सेवाग्राहीसँग ६५ हजार घूस मागेको अख्तियारले जनाएको छ ।
बिचौलिया शर्माले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले दुवैजनालाई सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६