विराटनगर । गोरखापत्र संस्थानले आफ्नो प्रकाशन ‘गोरखापत्र दैनिक’ प्रदेश १ को राजधानी विराटनगरबाट पनि प्रकाशन सुरु गरेको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विराटनगर प्रकाशनको आरम्भ गरे । सोही अवसरमा गोरखापत्र संस्थानको नयाँ भवन पनि उद्घाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त रहेको बताए । उनले भने, “लोकतन्त्रमा प्रेसको जीवन अनन्त छ, जनताले स्थापित गरेको लोकतन्त्र गोरखापत्रले बचाउनुपर्छ ।”
मन्त्री बाँस्कोटाले लोकतान्त्रिक प्रणालीलाई राजनीतिक प्रणालीले स्थापित गरिसकेको उल्लेख गर्दै नयाँ नेपाल निर्माणका बहुआयामिक स्वरुप निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने, “लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले अब अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने समय आएको छ ।”
गोरखापत्र दैनिक सरकारको मुखपत्र नभएर राष्ट्र र जनताका मुखपत्र भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र भएको देशमा नै प्रेस बाँच्न सकिने कुरामा जोड दिए ।
मन्त्री बाँस्कोटाले नेपालको पत्रकारिताको इतिहास गोरखापत्रबाट सुरु भएको प्रसंग उल्लेख गर्दै विकासका दुई आयाम भौतिक र मानवीय विकास रहेको जानकारी गराए ।
सरकारी जग्गा संरक्षण गर्न सकेमा भावी पुस्ताका लागि संरचना बनाउन सजिलो हुने भन्दै गोरखापत्र पत्रिका मात्र नभएर भवन, मेसिन र रोजगार सिर्जना गर्ने स्थान भएकाले यसले गुणस्तरीय र अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सकिने तथा पाठक वर्गले रुचाउने किसिमको हुनुपर्ने बताए ।
मन्त्री बाँस्कोटाले निकट भविष्यमा सुनसरीको इटहरीबाट नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण हुने जानकारी पनि दिए ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले नेपालको ज्येष्ठ राष्ट्रिय दैनिक गोरखापत्र नयाँ अध्यायबाट सुरु भएकोमा खुसी व्यक्त गर्दै संसार खुल्ला भएर नै प्रतिस्पर्धा बढेको र यसमा गोरखापत्रले पनि आफूलाई बदल्नुपर्ने सुझाव दिए ।
मन्त्री कार्कीले गोरखापत्रलाई श्रेष्ठकर एवं पठनीय बनाउन प्रतिस्पर्धामा आउनु सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जोड दिए । उनले मुलुकका सबै सरकारी सञ्चार माध्यम बलियो भएमा लोकतन्त्र पनि बलियो हुने पनि बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १ सय १९ वर्ष पार गरिसकेको गोरखापत्र नयाँ ढंगले सत्य, तथ्यमा आधारित भएर आवाजविहीनको आवाज बन्नुपर्नेमा जोड दिए ।
गोरखापत्र सञ्चालक समितिका अध्यक्ष कृष्णमुरारी भण्डारीले सत्यतथ्य र विचारमा आधारित समाचारले हिंसा रोक्ने प्रसंग उल्लेख गर्दै सञ्चार राज्यको स्नायु प्रणाली र दिमाग भएको बताए । उनले आउने फागुन ७ गते कोहलपुरबाट पनि गोरखापत्र प्रकाशन सुरु हुने जानकारी दिए ।
विराटनगरबाट प्रकाशन हुने पत्रिका प्रदेश नम्बर १ र २ का लागि वितरण हुने छ । गोरखापत्रले मुलुकका ३८ जातजातिका भाषामा सामग्री प्रकाशन गर्ने गर्छ । गोरखापत्र संस्थानका अन्य प्रकाशन मुना, युवामञ्च, मधुपर्क, द राइजिङ नेपाल हुन् ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६