खोटाङ । खोटाङ जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै दुई करोड रुपैयाँभन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो ३० रुपैयाँमा घरबाटै बिक्री हुने आलु यसवर्ष दुई करोड २३ लाख १२ हजार ५ सयभन्दा बढीको उत्पादन भएको हो ।
लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ मुरी (५ सय पाथी) आलु उत्पादन भएको स्थानीय किसान गोविन्द तामाङले बताए । खिदिमामा ४२५ घरधुरी स्थानीयवासी बसोवास गर्छन् , उनले भने, अन्यबाली खासै नहुने खिदिमामा प्रत्येक घरले कम्तीमा पनि २५ मुरी आलु उत्पादन गर्छन् ।
खिदिमामा यसवर्ष साढे ७ हजार क्विन्टलभन्दा बढी आलु उत्पादन भएको साकेला गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । आलुबाट मात्रै प्रति घरपरिवारले सरदरमा ४३ हजार ७ सय ५० भन्दा बढी आम्दानी गरेका छन् , उनले भने, पहिलो बालीका रुपमा लगाइने आलु खेतीलाई थप प्रवर्द्धन गर्न गाउँपालिकाको तर्फबाट गत वर्ष दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो ।
समुद्री सतहदेखि करिब दुई हजार फिट अग्लो भूभागमा पर्ने खिदिममा उत्पादन भएको आलु जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ४० रुपैयाँमा खरिद तथा बिक्री हुने गरेको छ । खिदिमाको आलु कम्पोस्ट मल प्रयोग गरेर उत्पादन गरिएकाले खरिद गर्नेको लुछाचुँडी नै चल्ने गरेको पाइएको छ ।
खिदिमाको आलु अर्गानिक भएकाले पनि उपभोक्ताको माग सबैभन्दा बढी रहेको दिक्तेलका व्यापारीले बताएका छन् । गाउँमा खासै बिक्री नहुने आलु स्थानीयवासीले गाडीमा हालेर दिक्तेलबजार तथा बाहिरी जिल्ला निर्यात गर्ने गरेका छन् ।
यसअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय खोटाङले खिदिमालाई आलुको पकेट क्षेत्र घोषणा गरेर प्रवर्द्धनको काम थालेको थियो । देशमा संघीयता लागू भएसँगै साकेला गाउँपालिकाले पनि उक्त कार्यलाई निरन्तरता दिएको छ ।
आलु उत्पादक किसानलाई संगठित गरेर टोलटोलमा समूहसमेत गठन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गठन गरेको साकेला सोकी किसान समूहले गतवर्ष भस्मे फाँडेर रोपेको ठाउँबाट मात्रै सय मुरीभन्दा बढी आलु उत्पादन भएको कृषि शाखा प्रमुख राईले बताए ।
एक मुरीमा २० पाथी हुन्छ । पाथीमा साढे तीन किलो हुने किसानले बताएका छन् । गाउँघरमा पाथीको हिसाबले खरिद तथा बिक्री हुने गरेको छ । खिदिमामा पङ्खदले, खम्बुले, ठ्याङ्ग्रे, भोटाङ्गे, धराने जस्ता रैथाने प्रजातिका आलु उत्पादन हुने गरेको छ । रैथाने प्रजातिको आलु अहिले बजारमा आएको अन्य नयाँ प्रजातिको भन्दा स्वादिलो र पोषिलो हुने किसानको दाबी छ ।
खिदिमलगायत माथिल्लो भेगमा आलुको पकेटक्षेत्र घोषणा गरेर प्रवर्द्धनको काम शुरु गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । आलुका लागि हाम्रो गाउँपालिकालाई भूगोलले साथ दिएको छ , उनले भने, यसलाई व्यवस्थित र प्रवर्द्धन गर्न गत वर्षदेखि नै योजना बनाएर अगाडि बढेका छौँ ।
साकेला गाउँपालिकाको खिदिमा, रतन्छा, बाँझेच्यानडाँडा, मात्तिमलगायत माथिल्लो भेगमा आलु उत्पादन हुने गरेको छ । गाउँपालिकाले एक वडा, एक कृषि उत्पादनको नीति बनाएर अगाडि बढेको र खिदिमालाई आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका प्रमुख खड्काले बताए ।
पाँच वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशपक्षीपालनलगायत फरक/फरक कृषि व्यवसायको पकेट क्षेत्र बनाउने अभियान सुरु गरिएको छ । हरेक वडामा भूगोल अनुसार फरक–फरक व्यवसायका लागि किसान समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ ।
वडास्तरमा २९ वटा किसान समूह गठन गरेर प्रवर्द्धनमा लागेको गाउँपालिकाले हरेक किसान समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउबीजन, उन्नत जातको पशुपक्षी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । व्यावसायिक कृषिलाई जोड दिँदै आएको गाउँपालिकाले गत वर्ष ५३ लाख र स्वीस सरकार अन्तर्गत हेल्भेटासले ४५ लाख २८ हजार गरी जम्मा ९८ लाख २८ हजार रुपैयाँकाे बजेट विनियोजन गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६