सिंगापुरमा हुने त्रिकोणात्मक र ओमानमा हुने टि २० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । विहीबार भएको घोषणा टोलीमा ३ युवा खेलाडीलाई पहिलो पटक मौका दिइएको छ ।
घोषणा टोलीमा अलाउन्डर कुशल मल्ल र शीर्षक्रमका ब्याट्सम्यान इशान पाण्डे पहिलो पटक टोलीमा परेका छन् । कुशल मल्लले पनि उमेर समुहमा राम्रो प्रभाव छाडेका छन् । इशान पाण्डेले गत जेठमा प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए ।
घोषणा टोलीमा गत महिना सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा रहेका वसन्त रेग्मी, शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरी टोलीमा छैनन् । युवा खेलाडी दिपेन्द्र सिंह ऐरीलाई उप कप्तानको जिम्मेवारी दिएको छ ।
नेपालले सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म जिम्बाबे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । त्यस्तै अक्टोबर ५ देखी १० सम्म ओमानमा पाँच राष्ट्रबीच टि२० सिरिज खेल्ने छ । जसमा ओमान सहित नेपाल,हङकङ,नेदरल्यान्ड,आयरल्यान्ड छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६