काठमाडाैं । नेपाल पत्रकार महासङ्घले दसैं नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरूलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दसैं पेस्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरूलाई आग्रह गरेको छ ।
काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यहरूको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दसैं पेस्की उपलब्ध गराउने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए ।
बैठकले श्रमजीवी पत्रकारहरूका लागि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरूमा अनुगमन र दबाब दिने निर्णयसमेत गरेको छ । बैठकले अनुगमन र दबाब दिनका लागि उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टको संयोजकत्वमा दुई समिति गठन गरेको छ ।
महासचिव विष्टका अनुसार दुवै समितिले तत्कालै सञ्चार प्रतिष्ठानमा गएर श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सिर्जना गर्नेछ । बैठकले समाचार सङ्कलनार्थ पत्रकारहरू सिंहदरबार प्रवेश गर्दा थप कडाइ गर्दै झन्झटिलो व्यवस्था गरिएकाले सिंहदरबार प्रवेशमा सहज वातावरण बनाएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ ।
यसैगरी बैठकले रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिनाशर्त तत्काल पुनरबहाली गर्नसमेत माग गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६