असुरक्षित गर्भपतन गराउनेको संख्यामा अझै कमी आएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हरेक एक सय महिलामध्ये ५८ जनाले असुरक्षित गर्भपतन गराउँछन्।
प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउने गरेको तथ्यांक स्वास्थ्य सेवा विभागको छ । बर्सेनि १ लाख ८६ हजार १ सय ४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्स्टिच्युट र कृपा नामक संस्थाले जनाएका छन् ।
सरकारले गर्भपतन सेवा शीर्षकमा झन्डै १० करोड बजेट विनियोजन गरे पनि असुरक्षित गर्भपतन गराउनेको संख्यामा कमी आएको छैन । पर्याप्त जनचेतना, प्रभावकारी नियमनको अभावमा असुरक्षित गर्भपतन गराउनेहरूको संख्या बढ्दै गएको छ।
अनिच्छित गर्भलाई सुरक्षित तरिकाले गर्भपतन गराउन आवश्यक सीप नभएका व्यक्तिले गरेको अथवा तोकिएको मापदण्डअनुसारको सुविधा नभएको स्थानमा दिइएको गर्भपतन सेवालाई असुरक्षित गर्भपतन भन्ने गरिन्छ।
चिकित्सकका अनुसार आवश्यक तालिम नलिएका वा अनुमति नलिएका स्वास्थ्यकर्मी जोखिमपूर्ण विधिबाट गर्भाशयमा रहेको भ्रुण नष्ट गर्ने कार्य असुरक्षित गर्भपतन हो । पछिल्लो तथ्यांकअनुसार २४ प्रतिशत महिलाहरू परिवार योजनाको साधन प्रयोग गर्न चाहे पनि सहज रूपमा पाउन सकेको छैन ।
सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्यविधि निर्देशिका, २०७४ ले गर्भवती महिलाको लिखित मन्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको परिधिभित्र रहेर प्रदान गरिने गर्भपतन सेवालाई मात्र सुरक्षित गर्भपतन सेवा मानेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६