रियाल म्याड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान च्याम्पियनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग लज्जास्पद हार बेहोरेको छ ।
रियालले पीएसजीको मैदानमा ३–० को लज्जास्पद हार बेहोरेको हो । रियाललाई हराउदा रियालकै पुर्व खेलाडी एन्जल डि मारियाले दुई तथा थोमस म्युनियरले एक गोल गरे ।
पार्क डि प्रिन्सेसमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको १४औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । जुवान बर्नाटको कट ब्याक पासमा मारियाले सुन्दर फिनिस गरेका थिए ।
३३औं मिनेटमा मारियाले व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमौ २–० को अग्रत लिएको थियो । लगत्तै ग्यारेथ बेलले अविश्वनीय गोल गरेपनि भिएआरको सहायतामा गोलले मान्यता पाएन ।
पेनाल्टी बक्सभित्रैबाट बेलले गरेको भली प्रहार रेफ्री एन्थोनी टेलरले भिएआरमा चेक गर्दै बेलको हातमा लाग्दै गोल गरेको भन्दै गोललाई मान्यता दिएन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा थोमस म्युनियरले गोल गर्दै रियाललाई ३–० को लज्जास्पद हार चखाए ।
पीएसजी आफ्ना मुख्य खेलाडी नेयमार र एमबाप्पेविनै मैदान उत्रिदा चोटले थलिएको रियाल पनि आफ्नो मुख्य खेलाडी बिनै मैदान उत्रिएको थियो ।
जितसँगै पीएसजीले समूह ‘ए’ मा महत्वपुर्ण ३ अंक जोडेको छ । रियाल पुछारमा छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६