काठमाडौं । संघीय संसद्का लागि नयाँ आधुनिक भवन औपचारिक रुपमा निर्माण सुरु भएको छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेपछि यसको औपचारिक सुरुआत भएको हो ।
संसद्को आफ्नै भवन नभएका कारण अहिले नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन भाडामा लिएर संसद् भवनको रुपमा प्रयोग गरिँदै आएको छ । सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १५ करोड भाडा तिर्ने गरेको छ।
सरकारले सिंहदबार परिसरमा रहेको पुतली बगैंचामा संसद्को आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको थियो । करबाहेक ७ अर्ब रुपैयाँको लागतमा बनाउन लागिएको भवन आगामी ३ वर्षभित्र बनाइसुक्ने लक्ष्य सरकारले लिएको छ ।
शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीसहित प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र नेकपाका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ पनि पुगेका थिए ।
प्रकाशित मिति: बुधबार, असोज १, २०७६