संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जादै गरेको जिप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये एकै परिवारका ३ जना छन् ।
को १ ज ३७४९ नम्बरको बोलेर जिप गएराति धर्मदेवी नगरपालिका–८ काे बैरेनीस्थित अक्करे भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् । जिप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर आउँदै धरानतर्फ जाँदै थियाे ।
प्रहरीका अनुसार जिपमा सवार संगम राई, उनकी श्रीमती र ३ वर्षीय छोरा बेपत्ता भएका छन् । चालक सन्तोष विक छन् भने अन्य २ जनाकाे परिचय खुल्न नसकेको प्रहरीले जनाएकाे छ ।
जिप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै पुगेको प्रहरी टोलीले खोजी गरिरहेको छ । तर उर्लिएको अरुणमा जिप पूरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी भनाइ छ ।
प्रकाशित मिति: बुधबार, असोज १, २०७६