बोरुसिया डर्टमुन्डका कप्तान मार्को रिउसको दोस्रो हाफको पेनाल्टी प्रहार गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाएपछि बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा हारबाट जोगिएको छ ।
खेलको दोस्रो हाफको ५७ औं मिनेटमा बोरुसियाले पेनाल्टीको अवसर पायो । तर रिउसले आफ्नो दायाँ तर्फ प्रहार गरेको पेनाल्टीलाई स्टेगनले पुरै पोस्टको दुरी डाइभ हान्दै विफल पारे ।
घरेलु समर्थकमाझ निकै राम्रो प्रदर्शन गरेको बोरुसियाले थप अवसर सिर्जना गर्यो । खेल अवधिभर बार्सिलोनाले पोस्टमा जम्मा एक पटक प्रहार गर्न सक्यो । बार्सिलोनाका लागि गोलरक्षक टेर स्टेगनले म्यान अफ द म्याच प्रदर्शन गर्दै अंकविहिन हुनबाट रोके ।
बार्सिलोनाले सन् २००९-१० पछि पहिलो पटक च्याम्पियन्स लिगको पहिलो खेलमा गोल गर्न सकेन । बार्सिलोनाले त्यसबेला इन्टर मिलानविरुद्ध गोल गर्न सकेको थिएन । त्यस सिजन इन्टर नै उपाधि जित्न सफल रहेको थियो । यद्यपि यस नतिजासँगै समूह चरणमा बार्सिलोना पछिल्लो १४ खेलमा जर्मन टोलीविरुद्ध अपराजित नतिजा कायम गर्न सफल रहेको छ ।
प्रकाशित मिति: बुधबार, असोज १, २०७६