मनिला । फिलिपिन्सको दक्षिणी भूभागमा पर्ने कोटाबाटो प्रान्तमा मङ्गलबार बिहान भएको सवारी दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
गुडिरहेको एउटा ट्रक चट्टानमा गएर ठोक्किएपछि सो दुर्घटना भएको स्थानीय प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् । टिबोली शहरको लम्सालोमे राजमार्गमा गुडिहरेको सो ट्रकमा २० व्यक्ति सवार रहेका जनाइएको छ ।
स्थानीय समय अनुसार मङ्गलबार बिहान १०ः३० बजे सो ट्रक सडकबाट बाहिर गएर चट्टानमा ठोक्किएको र त्यसपछि ट्रक पल्टिएको थियो ।
चौध व्यक्तिको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अरु केही घाइते भएका पनि प्रारम्भिक प्रहरी रिपोर्टमा जानकारी दिइएको छ ।
दक्षिणी कोटाबाटोको प्रान्तीय प्रकोप र जोखिम न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख रोली डोआन एकिनाले मृतकहरूको संख्या १५ पुगिसकेको र घटनास्थलमा घाइते भएका एक व्यक्तिको अस्पतालमा मृत्यु भएको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६