काठमाडाैं । अर्थमन्त्री डा युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ ।
कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज अर्थमन्त्री खतिवडाले शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको धारणा राखेपछि बजार एक्कासी बढेको हो । बजार खुल्नेबित्तिकै आइतबार र सोमबारकै लयमा घट्न थालेको थियो । जब अर्थमन्त्रीको उक्त धारणा सार्वजनिक भयो तब बजारले उकालोको यात्रा तय गर्यो । कारोबार सुरु भएको २८ मिनेटसम्म स्थिर रहेको बजार त्यसपछि भने एकाएक बढ्न थाल्यो ।
नेप्से परिसूचकको उकालो यात्रा अपराह्न १ बजेर २७ मिनेटसम्म निरन्तर रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक २६.९१ बिन्दुले बढेर एक हजार १५०.७४ मा पुगेर रोकिएको छ । प्रतिशतका आधारमा नेप्से २.३९ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै सेन्सेटिभ परिसूचक २.१२ प्रतिशत अर्थात ५.२२ बिन्दुले बढेर २५१.५७ मा पुगेको छ । नेप्से परिसूचक वृद्धिको तुलनामा कारोबार रकम भने बढ्न सकेन । आज कुल १ सय ७१ कम्पनीको १३ लाख ७७ हजार ९ सय ४६ कित्ता शेयर ३८ करोड ३९ लाख ५७ हजार ४ सय २६ रुपैयाँमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये ११ उपसमूहको शेयर उकालो लागेको भने सामूहिक लगानी कोष भने घटेको छ । कोष ०.०४ प्रतिशतले घटेको छ । बैंकिङ २१.०७, व्यापार २.२८, होटल ५७.७९, विकास बैंक २६.७७, जलविद्युत् ३९.५, वित्त ८.४६, निर्जीवन बीमा ८८.५७, उत्पादन १०७.१, अन्य २०.२६, लघुवित्त ३०.२ र जीवन बीमा १०२.९३ अङ्कले बढ्यो ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको तीन करोड ४९ लाख ७७ हजार ३ सय ६० रुपैयाँमा शेयर खरिद बिक्री भयो । सो बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट २५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता आकर्षित भएका हुन् ।
त्यस्तै नेपाल बैंकको दुई करोड ९७ लाख एक हजार ६ सय ६९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दुई करोड ८३ लाख ३८ हजार २ सय ६, शिवम् सिमेन्ट एक करोड ९९ लाख ७६ हजार, प्रभु बैंक एक करोड ४५ लाख १९ हजार ८ सय ७८ र सानिमा बैंकको एक करोड २८ लाख ४० हजार ७ सय २ रुपैयाँमा खरिद बिक्री भयो ।
त्यस्तै शिवम् सिमेन्टका लगानीकर्ताले ९.९० प्रतिशतले कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ९.६२, राधी विद्युत् कम्पनी ९.४५, अपि पावर कम्पनी ९.१७, कर्णाली डेभलपमेन्ट बैंक ८.९१ र अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ८.९१ प्रतिशतले कमाए । बढेको बजारमा एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताले ५.५९, आँखुखोला जलविद्युत् कम्पनी ५.३५, सिटिजन बैंक इन्टरनेशनल ५.०६, सिन्धु विकास बैंक ४.७६, सानिमा इक्विटी फण्ड ३.०३ र कालिका पावर कम्पनीका शेयरधनीले २.४३ प्रतिशतले गुमाए ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६