चितवन । चितवनको भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानीट्यांकी ओरालोमा मंगलबार बिहान म्याजिक भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको सो म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको हो ।
म्याजिक पल्टिँदा त्यसमा सवार चार जना घाइते भएकामा नेपालीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जना सामान्य उपचारपश्चात् घर फर्किएका छन् । म्याजिक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६