सात सय वर्षपहिले जन्मेर पनि संसारभर अझै रहस्यवादी कवि ‘रुमी’का प्रशंसकहरु बढिरहेका छन् । र मलाई पनि रुमीका कविता अत्यन्तै मन पर्छ । चर्चित रहस्यवादी कवि रुमीको जन्म सेप्टेम्बर ३० १२०७ मा तत्कालीन पर्सिया (अहिलेको अफगानिस्तान) मा भएको हो ।
रुमीको अर्थ ‘पूर्व रोमनबाट’ भन्ने हुन्छ । उनका पिता धर्मशास्त्री थिए । इरान र टर्कीमा रुमीलाई मौलाना भनेर चिन्थे । रुमीले जीवनका ३७ वर्ष एउटा परम्परागत धार्मिक गुरुको रुपमा सेवा गरे । र जब उनले एउटा फिरन्ते आध्यात्मिक मान्छे ‘साम तबृजी’लाई भेटे, त्यसपछि उनको जीवनको नयाँ अध्याय सुरु भयो ।
अत्यन्तै रहस्यवादी कविता लेख्ने रुमी आध्यात्मिक र प्रकृतिप्रेमी कवि थिए । उनले विशेष प्रकारको नृत्य पनि सुरु गरेका थिए, जसलाई सुफी नृत्य भनिन्छ । अनुवादक रुपसिंह भण्डारीले अनुवाद गरेका रुमीका पाँच चर्चित कविता :
१-मोडमा
म यति सानो छु विरलै देखिन्छु
कसरी यत्रो महान प्रेम मभित्र अटाउँछ ?
तिम्रा आँखाहरुलाई हेर तिनीहरु कति साना छन्,
तर विशाल चिजहरु देख्न सक्छन् ।
२-शान्तता
आकाश बन
जेलका भित्ता फुटालेर भाग
र यसरी हिँड कि कोही एक्कासी रङमा जन्मे जसरी
यो अहिले नै गर ।
३- दुई पसल
चील जसरी पहाडको टुप्पोबाट हुइँके झैँ सोच
वन को बाघ झैँ हिँड
जब तिमी शिकारको पिछा गर्दछौ
त्यतिबेला तिमी अति सुन्दर देखिन्छौ ।
त्यसैले
बुलबुल र मयुरसँग धेरै समय नबिताउ
यी त सुमुधुर आवाज र रङ मात्र हुन्
४-दुई पसल-२
यो दुनियाँमा धेरै यताउता नहेर
आफू लुक्ने दुलाहरु खोजेर
यहाँ हरेक दुलाहरुमा डरलाग्दा जंगली जनावरहरु छन् ।
यदि तिमी मुसासँग बस्यौ भने
बिरालाको झ्यापु भेट्ने छौ ।
त्यो डरलाग्दो धराप बन्द गर
त्यो पसल चैँ खुल्लै राख
जहाँ तिमीले बल्छी बेच्न छोडिसक्यौ
र स्वतन्त्र माछा झै पौडिरहेछौ ।
५- जहाँ हरेक बस्तुमा संगीत छ
यी गीतहरु बचाउनका लागि खासै चिन्ता नगर
र यदि कुनै एउटा बाजा टुट्यो भने पनि
खासै फरक पर्दैन
हामी त्यस्तो ठाउँमा झरिसकेका छौँ
जहाँ हरेक कुरा संगीत हुन्छ
बाँसुरीका धुन र लयहरु उठ्ने छन्
वायुमण्डलमा
यदि कतै संसारकै वीणा जले पनि
त्यहाँ कहीँकतै लुकेका बाजाहरु बजिरहने छन्
हामीसँग एउटा चम्किलो ढुंगा र सिक्का छँदै छ
दीप जल्छ र निभ्छ
यो गाउने कलाकारिता समुद्रको फिँज हो
अनी यी सुन्दर पलहरु समुद्रको कतै पिँधमा रहेको
मोतीबाट आउँछन्
कविताहरु समुद्रका छाल जस्तै उठेर
समुद्री किनाराका काठहरुमा ठोक्किन्छन्
र क्षणभरमै गायब हुन्छन्
तिनीहरु शक्तिशाली जराबाट उत्पन्न हुन्छन्
हामी देख्न सक्दैनौँ
अब शब्दहरु बन्द गर
तिम्रो छातीको बीचका झ्यालहरु खोल
र आत्माहरुलाई भित्रबहिर उड्न देऊ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६