काठमाडाैं । गत भदौ २८ गते शनिबार संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिलो भएको भनी ज्ञानेन्द्र शाहीसहितकाे समूहले जहाजभित्र गरेकाे हाेहल्लासँगै सामाजिक सञ्जालमा चर्चा भइरहेकाे छ । शाहीले एक घण्टा ढिलाे भएकाे बताएका छन् भने पर्यटनमन्त्री भट्टराईले आफ्ना कारण १५ मिनेट मात्र ढिलाे भएकाे भनी क्षमायाचना गरिसकेका छन् ।
यस विषयमा बुद्ध एयरले जहाज ढिलो उड्नुको कारण र ढिलाे भएकाे समय खुलाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ ।
यस्तो छ बुद्ध एयरले सार्वजनिक गरेको ७ कारण
१ -काठमाडाैंबाट नेपालगन्जका लागि विमान १६ : ५० बजे उड्नुपर्नेमा काठमाडाैंबाटै २३ मिनेट ढिला भई १७ :१३ मा उडेको थियो । र विमान नेपालगन्जमा १८ः०२ मा अवतरण गरेको थियो ।
२-काठमाडाैंबाट बुद्ध एयर Buddha Air Flight Operation ले नेपालगन्जलाई दिएको Revised Time अनुसार नेपालगन्जबाट विमान १८ : २५ को सट्टा १८ : ४० मा उड्नुपर्ने थियो ।
३- बुद्ध एयरसँगै यती एयरलाईन्सको १७ः५३ मा अवतरण गरेर १८ : २१ मा उडेको र श्री एयरलाईन्सको विमान १८ : ३० मा अवतरण गरेर १८ : ५१ मा उडेपछि हाम्रा यात्रुहरु विमानमा नलगेका कारण असहज महसुस गर्न थालेका थिए । सोहि समयमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका प्रमुखमार्फत् फोन गरेर हामी धम्बोजी आइपुग्यौं भन्ने जानकारी पाएपछि अब मन्त्रीज्यू आइपुगिहाल्ने आशय बुझी हाम्रा एयरपोर्टका कर्मचारी मित्रहरुले यात्रुहरुलाई १८ : ३० तिर विमानमा बोर्डीङ्ग गर्नुभएको थियो तर, त्यसो नभई वहाँहरुले फोनमा जानकारी गराए भन्दा केही ढिला एयरपोर्ट प्रवेश गर्नुभयो ।
४- माननीय मन्त्रीज्यू एयरपोर्ट प्रवेश गर्नु पहिला नै सुरक्षाकर्मीहरुकै अगाडि १४–१५ जना यात्रुहरुको समुह हाम्रा विमान परिचारिकाहरुले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोशित भई विमानबाट १८ : ४० तिर बाहिर निस्किएर हाम्रा कर्मचारी मित्रहरुसँग बादविवाद गर्न थाल्नु भएको थियो । सो विवाद ६–८ मिनेट जति चलेको थियो ।
५-मन्त्रीज्यू १८ : ५० मा एयरर्पोट पुग्ना साथ बाहिरका उत्तेजित समुह वहातिरै फर्केर तपाई किन ढिला आउनु भएको, तपाईले गर्दा हामी सबैले कुर्नुपर्ने हो भनि अझ आक्रोशित हुन थालेपछि मन्त्रीज्यू चुपचाप विमानभित्र चढ्नु भयो र सो समुह मन्त्रीज्यूसँगै विमान भित्रै एकैचोटी चढेर एक ठाउँमा उभिएर ४–५ मिनेट सम्म अझ बढी आक्रोश पोख्न थालेपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको थियो र सो समुहलाई साम्य बनाई विमानको सिटमा बस्न आग्रह गरेर उडान भर्दा अझ ढिला हुन गएको थियो ।
६- नेपाल गन्जलाई दिएको Revised Time अनुसार नेपालगन्ज्बाट २४ मिनेट ढिला भई १९ ः४ मा विमान उडेको थियो ।
७ -उल्लेखित घटनामा माननीय मन्त्रीज्यूका सुरक्षाकर्मी र सहयोगीहरुले देखाएको संयमताका कारण आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६