काठमाडौं । विगत केही दिनदेखि जारी रहेको मौसम बदली तथा वर्षाको क्रम आउँदो बिहीबारबाट कम हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज र भोलि देशका धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भए पनि बिहीबारबाट भने मौसम क्रमिक सुधार हुँदै जाने मौसमविद्को अनुमान छ ।
मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपास रहेकाले अहिले देशैभर वर्षा भइरहेको महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बंगाल आसपासमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद्हरुले जनाएका छन् ।
भारतको उत्तर राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालको खाडी मनसुनको न्यून चापीय रेखाको औसत स्थान हो ।
आज मंगलबार देशैभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थान तथा पश्चिमका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । यस्तै, पश्चिम र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको आँकलन छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकामा १० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ७६.० मिलिमिटर, दाङमा १५.० मिलिमिटर, सिमरामा ५.० मिलिमिटर, नेपालगन्जमा ३७.० मिलिमिटर र विराटनगरमा १५.० मिलिमिटर वर्षा भएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६