काठमाडाैं । प्रहरीले सिहंदरबारस्थित रेडियो नेपालबाट नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाललगायत ९ पत्रकारलाई पक्राउ गरेको छ।
रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निस्कासित पत्रकारको पुनर्बहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी गर्ने क्रममा ९ जना पत्रकारहरूलाई प्रहरीले पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा पत्रकार महासंघका सचिव दाहाल, केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघ डोटी शाखा अध्यक्ष योगेन्द्र बलायर र निस्काशित पत्रकारहरु प्रकाश बम, चक्र कुँवर र दिलिप पौडेल छन्।
पक्राउ परेका महासंघका केन्द्रीय सदस्य बमले रेडियो नेपाल परिसरमा नाराबाजी गरेपछि आफूहरुलाई प्रहरीले पक्राउ गरेको बताएका छन् । उनीहरुलाई प्रहरीले नेपाल पुलिस क्लबमा राखेको छ ।
यसअघि महासंघको नेतृत्वमा पत्रकारहरुले भदौ २४ गते सिंहदरबारभित्र प्रवेश गरेर रेडियो नेपालको स्टुडियो भवन परिसरमा आधा घण्टा धर्ना दिएका थिए । उनीहरुले धर्ना पछि रेडियो नेपालबाट निस्कासन गरिएका पत्रकारको पुनर्बहाली, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग लेखिएका काला ब्यानरहरु टाँग्दै पत्रकारहरुले नाराबाजीसमेत गरेका थिए ।
रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो । रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६