काठमाडौं । ललितपुरमा पत्रकार सम्मेलन गर्दै गर्दा ज्ञानेन्द्र शाहीमाथि हातपात भएको छ । नेपालगन्जमा शनिबार भएको घटनाबारे जानकारी दिन भन्दै शाहीले ललितपुरको पुल्चोकमा नेपालका लागि नेपालीको कार्यालयमा आइतबार १ बजे पत्रकार सम्मेलन गरेका थिए ।
सम्मेलनकै क्रममा उनीमाथि हातपात भएपछि प्रहरीले उनलाई ‘सुरक्षा’मा राखेको छ । शनिबार पर्यटन मन्त्री योगेश भट्टराईलाई पर्खिंदा नेपालगन्जबाट काठमाडौं आउनुपर्ने विमान ढिलो उडेको उनको आरोप छ । तर मन्त्रीले आफ्ना कारण १५ मिनेटमात्रै ढिलो भएको बताएपछि शाहीले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन बोलाएका हुन् ।
ललितपुर प्रहरीका एसएसपी टेकबहादुर राईका अनुसार सुरक्षा खतरा भएपछि शाहीलाई उद्धार गरी प्रहरी कार्यालयमा राखिएको छ । राईका अनुसार शाहीको सुरक्षाका लागि पत्रकार सम्मलेनमा प्रहरी खटाइए पनि आयोजकले प्रहरीलाई भित्र पस्न नदिएका कारण घटना भएको बताए ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६