३ असोज नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सविधान जारी भएको दिन हो । जनताबाट चुनिएका प्रतिनिधिको संविधानसभाबाट यो संविधान ३ असोज २०७२ मा घोषणा गरिएको थियो ।
हरेक वर्ष सो दिनलाई संविधान दिवसका रूपमा निकै हर्षोल्लासका साथ मनाइँदै आएको छ ।
यस वर्ष ३ असोजमा पनि संविधान दिवस भव्य रुपमा मनाउन सरकारले सार्वजनिक बिदाको घोषणा गरिसकेको छ ।
संविधान दिवस मनाउनका लागि सरकारले भव्य रुपमा तयारी गरिरहेका बेला उक्त दिनलाई कालो दिवसका रुपमा मनाउन अर्को पक्षले विरोधको तयारी गरिरहेको छ ।
संविधान दिवस मनाउने र विरोध गर्न दुवै पक्ष आन्तरिक तयारीमा जुटेका छन् ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ३ असोजमा संविधान दिवस मनाउन सरकारले भव्य रुपमा तयारी गरिरहेको बताएका छन् । नेपाली जनताले लामो समयसम्म गरेको त्याग, तपस्या र बलिदानबाट वर्तमान संविधानमा प्रतिबिम्बित भएको र जननिर्वाचित ऐतिहासिक संविधानसभाबाटै संघीय संविधान घोषणा भएको महत्त्वपूर्ण दिनलाई संविधान दिवसका रुपमा भव्यताका साथ मनाउन ठूलो तयारी गरिरहेको भन्दै मन्त्री बाँस्कोटाले भने, ‘सबैको अधिकार सुरक्षित गरेको संविधान घोषणाको त्यो दिन देशैभर सरकारले मात्रै नभइ आमनेपालीले खुसी साटासाट गरी भव्य रुपमा मनाउनेछन् ।
तर, अर्कोतर्फ प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)ले ३ असोजलाई विरोध दिवसका रुपमा मनायनेनिर्णय गरेको छ । बबरमहलस्थित राजपा पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले संविधान जारी भएको दिनलाई विरोध दिवसका रुपमा मनाउने निर्णय गरेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६