काठमान्डाै : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताएकी छन् । मन्त्री अर्यालले जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकको ५२औँ स्थापना तथा ३८औँ वार्षिक साधारणसभामा उनले सहकारीलाई फरक ढङ्गले व्यवस्थित गर्न बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कम गर्ने र कृषिमा आधारित विषयगत सहकारीको सङ्ख्या बढाइने नीति सरकारको रहेको बताइन् ।
उनले भनिन्, गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयक सहकारी आवश्यक छ, प्रक्रियागत ढङ्गले सहकारीको सङ्ख्या घटाउने र बढाउने गरिन्छ । मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठूला स्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताइन् । “सरकार सहकारीमा कानूनी बाधक बनेको पनि छैन र बन्दैन पनि, हामी फरक ढङ्गले सहकारीमार्फत विकासका काममा काम गर्ने अभियानमा छौ , उनले भनिन् । सहकारीकर्मीले पनि सहकारी कानूनमा रहेर सरकारको समृद्धिको यात्रामा साथ दिनुपर्ने उनको धारणा थियो । मन्त्री अर्यालले सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेका बेला जमीनलाई फरक ढङ्गले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह गरिन् । सरकारले भू–उपयोग ऐन सरकारले पास गरेको, अब कार्यान्वयनका निम्ति नियमावली बनाउँछ, यसपछि तपाईहरु आफ्नो जमीन आफैँले प्रयोग गर्न लाग्नुहुन्छ , उनले थपिन, हामी भूमि व्यवस्थापन नगरी नहुने परिस्थितिमा पनि छौँ, भूमिको बेथिति हटाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन हामी हिम्मतका साथ अगाडि बढेका छौँ, यसमा तपाईहरुले साथ दिनुपर्दछ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडका अध्यक्ष केशवप्रसाद बडालले सहकारीकर्मी सहकारीको मूल्य–मान्यताअनुसार चल्नुपर्ने बताउँदै वर्तमान सरकार सहकारीमैत्री भएकाले आन्दोलनमा जानु नपर्ने बताए ।
जिल्ला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष विनोद पराजुलीले संस्थाको गतिविधिबारे जानकारी दिँदै लिमिटेडसँग जिल्लास्थित ४७६ वटा सहकारी आबद्ध रहेको बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६