काठमाडौं । अर्थ मन्त्रालयले निर्धारित समयमा तोकिएको काम नगरेको भन्दै स्वतन्त्र लगानीकर्ताहरु आन्दोलित भएका छन् ।
बुधबार भृकुटीमण्डपमा भएको स्वतन्त्र लगानीकर्ताहरुको भेलाले ३ बुँदे निर्णय गर्दै सरकारलाई अलिटमेटम दिएको छ । सेयर मार्केटका लगानीकर्ताहरुले २०७६ असार मसान्तभित्रै गर्नुपर्ने गरी तोकिएका ५८ बुँदे कार्यक्रम नगरेकाले ३५ खर्बको पुँजी बजार घटेर १४ खर्बमा झरेको निष्कर्ष निकालेका छन् ।
भेलाले यही भदौ मसान्तभित्र निर्धारित ५८ बुँदे निर्णयअनुसारका कार्य पूरा गर्न पनि अर्थ मन्त्रालयलाई अल्टिमेटम दिएको छ । यसैगरी भेलाले अर्थमन्त्रीलाई बर्खास्त गर्न पनि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
यसैगरी अर्को बिहीबार बिहान १० बजे नेप्सेको कार्यालयअगाडि लगानीकर्ताको व्यापक भेला बोलाएको छ । आफ्ना मागप्रति संवेदनशील नभए त्यसको विरोधमा कडा आन्दोलन गर्ने र त्यसबाट हुने क्षतिको जिम्मेवार सरकार हुने पनि लगानीकर्ताहरुले जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६