अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ४-० गोल अन्तरले हराएको हो ।
लौटारोले खेलको १७ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले २२ औं मिनेटमा अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा लिआन्द्रो पारेडेसले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता ३-० ले बढाए । ३९ औं मिनेटमा लौटारोले आफ्नो ह्याट्रिक पूरा गरे ।
मुख्य फरवार्ड लिओनेल मेस्सीको अनुपस्थितिमा इन्टर मिलानबाट खेल्दै आएका लौटारोले उत्कृष्ट प्रदर्शन गरे । प्रशिक्षक लिओनेल स्कालोनीले उनलाई पहिलो हाफमा ह्याट्रिक गरेपनि दोस्रो हाफमा भने मैदानमा उतारेनन् । उनको स्थानमा पाउलो डिबालाले दोस्रो हाफ खेलेका थिए । लौटारोले अर्जेन्टिनाका लागि १२ खेल खेल्दै ६ गोल गरिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६