युरो २०२० छनोट अन्तर्गत इंग्ल्यान्डले घरेलु मैदानमा कोसोभोमाथि ५- ३ को जित दर्ता गरेको छ ।
खेलको ३४ औं सेकेन्डमा नै कोसोभोले गोल गर्दै खेलमा अप्रत्याशित अग्रता लिएको थियो । डिफेन्डर माइकल किनको गल्तिको फाइदा उठाउँदै भालोन बेरिशाले गोल गरे ।
खेलको आठौं मिनेटमा नै किनको पासमा रहिम स्टरलिङले गोल गर्दै खेल बराबरीमा ल्याए । रहिमकै पासमा कप्तान ह्यारी केनले १८ औं मिनेटमा गोल गर्दै इंगलिस टोलीलाई अगाडी बढाए । ३८ औं मिनेटमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्यो ।
त्यसपछि पहिलो हाफको अन्तिम दुई मिनेटमा इंग्ल्यान्डले दुई गोल थप्यो । दुवै गोल रहिमको पासमा सान्चोले गोल गरेका थिए । इंग्ल्यान्डका लागि रहिम र सान्चोले उत्कृष्ट तालमेल देखाउँदै कोसोभो डिफेन्सलाई समस्या दिइरहे । यद्यपि दोस्रो हाफमा भने इंग्ल्यान्डले गोल थप्न सकेन ।
दोस्रो हाफको ४९ औं मिनेटमा कोसोभोका लागि बेरिशाले नै काउन्टर अट्याकमा गोल गरे । त्यसपछि ह्यारी मगाएरले पेनाल्टी क्षेत्रभित्र भेदात मुरिकीलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनैले गोल गरे ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६