काठमाडाैं । ०७५ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण हजारौँ विद्यार्थीको प्रमाणपत्र (सर्टिफिकेट)मा नाम, थर र जन्ममिति नै गल्ती भेटिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइबाट विद्यार्थीको विवरण इन्ट्री गर्दा भएको लापरबाहीका कारण अहिले विद्यार्थी पीडित बनेका छन् ।
एउटै जिल्लाका ७४ प्रतिशतसम्म विद्यार्थीको विवरण गल्ती भेटिएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको एसइईको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ‘एउटाको जम्ममिति, नाम अर्कैको छ, एउटाको सिम्बोल नम्बर भए नाम र जन्ममिति अर्कैको छ,’ परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘यस्ता धेरै समस्या छन् । दैनिक पाँच सयसम्म विद्यार्थी पनिका आउने गरेका छन् । धेरैले दुःख पाएका छन् । हिजोआज पनिकाका कर्मचारी तिनै विद्यार्थीका विवरण सच्याउनमा व्यस्त छन् ।’
विद्यार्थीको नाम, थर र जन्ममिति मात्रै बिग्रिएको छैन । एउटा विद्यालयमा अर्को विद्यालयका विद्यार्थीको नाम राख्नेसम्मको लापरबाही भएको छ । रूपन्देही, ओखलढुंगा र धनुषाका विद्यार्थीको विवरणमा धेरै त्रुटि देखिएको पनिकाले जनाएको छ । रुपन्देहीमा करिब तीन हजार विद्यार्थीको नाम, थर र जन्ममिति गल्ती रहेको नियन्त्रक खकुरेलले बताए ।
ओखलढुंगामा करिब २३ सय विद्यार्थी छन्, तीमध्ये करिब १७ सयको विवरण त्रुटि छ । त्यस्तै, धनुषालगायत जिल्लामा पनि गल्ती भएका छन् । गल्ती विवरण सच्याउन विद्यार्थीले एक हप्तासम्म पर्खिनुपरेको छ । पनिकामा कम्प्युटरमा विवरण सच्याउने जनशक्ति अभाव भएकाले पनि लामो समय कुर्नुपरेको छ ।
‘स्कुलको सबैको बिग्रेको छ भने एक–एकजना विद्यार्थी नपठाउन भनेका छौँ । सबै विद्यार्थीको एकमुष्ट फारम ल्याउन र पनिकाबाट एकमुष्ट सच्याएर पठाउँछौँ भनेका छौँ,’ परीक्षा नियन्त्रक खकुरेलले भने, ‘जिल्लाबाट काठमाडौं आउँदा एउटा विद्यार्थीको हजारौँ खर्च हुने गरेको छ । हामीले सबैसम्म छिटो सच्याएर उपलब्ध गराएका छौँ ।’
पनिकाले एसइईको नतिजा सार्वजनिक भएको एक महिनामा विद्यार्थीलाई सर्टिफिकेट वितरण गरेको थियो । तर, सर्टिफिकेटमै व्यक्तिगत विवरण गलत भएपछि देश तथा विदेशमा अध्ययनका लागि तयार विद्यार्थीलाई तनाव भएको छ । उनीहरूले विवरण सच्याउन हजारौँ रुपैयाँ खर्चसमेत गर्नुपरेको छ ।
अनलाइनमार्फत फारम भरेका कारण पनि धेरै त्रुटि भएको नियन्त्रक खकुरेलले बताए । जिल्ला शिक्षा विकास तथा समन्वय केन्द्र एसइईको फारम भरेर केन्द्रमा पठाएका थिए । केन्द्रमा कर्मचारी नहुँदा विद्यालयबाट आएका फारम शिक्षकहरूमार्फत अनलाइन विवरण भराएको थियो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७५ मा सातवटै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी कुल चार लाख ७५ हजार ती परीक्षार्थी सहभागी थिए । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय सहभागी थिए । सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी थिए ।
परीक्षा नियन्त्रक रामराज खकुरेल भन्छन्–हतारमा काम गर्दा धेरै गल्ती भयो
विद्यार्थीले हार्डकपी फारम भरे । त्यो हार्डकपी विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा दियो । इकाइले अनलाइन फारम भर्नुपर्ने भयो । विद्यालयका शिक्षकलाई बोलाएर इकाइले अनलाइन फारम भरायो । इकाइमा आफ्ना कर्मचारी नभएपछि शिक्षकमार्फत फारम भराइएका हुन् ।
उनीहरूले पनि हतारमा काम गरेर होला एउटाको नाममा अर्कैको जन्ममिति छ । एउटाको रोल नम्बरमा नाम र जन्ममिति अर्कैको छ । कुनै विद्यालयका विद्यार्थीकोे नाम र रोल नम्बर सही टिपे पनि जन्ममिति सबैको एउटै भएको छ । अघिल्ला वर्षमा पनि विद्यार्थीको विवरणमा गल्ती हुन्थ्यो, तर अहिले अत्यधिक गल्ती भएको छ ।
समन्वय इकाइ जनशक्तिविहीन हुनु नै समस्याको सबैभन्दा ठूलो कारण हो । तर, अहिले स्थानीय तहले इकाइमा काम गर्ने शिक्षकलाई कारबाही गर्न थालेका छन् । यो अवस्थामा काम गर्न झन् कठिन हुन्छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६