काठमाडौं/बारा। बहुप्रतिक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना मंगलबारबाट औपचारिक रूपमा सुरु भएको छ । नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको यो परियोजनाको मंगलबार दुवै देशका प्रधानमन्त्रीले हाइटेक प्रविधिमार्फत उद्घाटन गरेका हुन् ।भारतका प्रधानमन्त्रीले दिल्लीबाट र नेपालका प्रधामन्त्रीले सिंहदरबार काठमाडाैंबाट एकैसाथ स्विच थिचेर परियोजनाको उद्घाटन गरेका हुन् ।
उद्घाटनपश्चात् पाइपलाइनमार्फत आएको डिजेल भारतीय आयल कर्पोरेसन (आईओसी)का कार्यकारी निर्देशक जेपी सिन्हाले भाँडोमा थापेर नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई हस्तान्तरण गरे ।
पाइपलाइन उद्घाटन कार्यक्रमलाई सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो परियोजना नेपाल र भारत मात्र नभई दक्षिण एसियाकै पहिलो र नमुना भएको बताए । यो परियोजनाले समय बचत मात्र नभई पेट्रोलियम पदार्थ आपूर्तिमा लाग्ने व्ययभार कम हुनका साथै ट्राफिक व्यवस्थापनसमेत सहज हुने बताए ।
त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला केही वर्षयता नेपाल–भारत राजनीतिक सम्बन्धमा अभूतपूर्व निकटता आएको बताएका छन् । दुई देशको संयुक्त प्रयासको उद्देश्य नै दुवै देशका नागरिकको हितका लागि हुने भन्दै उनले यो साझेदारीलाई अझै सक्रि बनाउन नयाँ परियोजना अघि सारिएको बताए ।
त्यस्तै, उद्घाटनपश्चात अमलेखगन्ज डिपोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय आयल कर्पोरेसन (आईओसी)का कार्यकारी निर्देशक जेपी सिन्हाले पाइपलाइन बिछ्याउन सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर जंगल क्षेत्रका कारण सुरुमा परियोजना असम्भवजस्तो देखिए पनि नेपाल सरकारको सहयोगका कारण समयअगावै सम्पन्न गर्न आफूहरू सफल भएको बताए ।
भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगन्जसम्म कुल २५९.७ किलोमिटरमध्ये नवनिर्मित मोतिहारीदेखि अमलेखगन्जसम्मको ६९.७ किलोमिटर पाइपलाइन आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने नेपाल आयल निगमले जनाएको छ । दैनिक २० घण्टा सञ्चालन क्षमताको पाइपलाइनबाट आवश्यक परेको खण्डमा दैनिक ३० हजार किलोलिटर तेल भित्र्याउन सकिने निगमको अमलेगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए ।
पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा हाल ढुवानीमा मात्रै खर्च भइरहेको वार्षिक ७० देखि ८० करोड रुपैयाँ बचत हुने निगमको अनुमान रहेको उनले बताए । राजधानीमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६