नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको छ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो । दुवै गाेल नेपालका लागि अन्जन विष्टले गरेका हुन् ।
नेपालले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा अग्रता दोब्बर पार्यो । काउन्टर अट्याकमा रवी पासवानको क्रसलाई सुजल श्रेष्ठले हेड गर्दै अन्जनतर्फ दिए । अन्जनले अनमार्क रहेको अवस्थामा पेनाल्टी क्षेत्रबाहिर उत्कृष्ट बल नियन्त्रणमा लिएर सानदार गोल गरे ।
यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारबाट माथि उक्लिँदै तेस्रो स्थानमा आइपुगेको छ । समान ३-३ अंक जोडेको जोर्डन र कुवेत गोल अन्तरमा अगाडी छन् । अष्ट्रेलियाले कुनै खेल खेलेको छैन भने ताइपेइ लगातर दोस्रो हारपछि पुछारमा छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६