नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
२ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई नेपाली बलरको कसिलो बलिङ सामु ३४.४ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । नवौं ओभरको पाँचौ बलमा यूएईले पहिलो विकेट गुमाएको थियो । १३ ओभरको अन्तिम बलमा अर्का ओपनर सैइद हैदरलाई सागर ढकालले १५ रनमा एलबी डब्लू आउट गरे ।
सागरलनै १८ ओभरको चौथो बलमा अरबिन्द्र रुद्रबेललाई २८ रनमा बोल्ड आउट गरे । पवन सरार्फले अल्सान शरफुललाई २१ रनमा क्याच आउट गराए यूएईको विकेट पतन निरन्तर जारी रह्यो । नेपाली बलर सामु कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर खुलेर खेल्न सकेनन् ।
नेपालको फराकिलो जितमा सागर ढकालले ७ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै पवन सरार्फ,सुर्य तामाङ र राशिद खानको नाममा समान २ विकेट रह्यो । त्यस्तै कमलसिंह ऐरीले १ विकेट लिए ।
त्यसअघि यूएईले टस जितेर ब्याटिङको निम्तो दिएपछि नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो । कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए ।
तल्लोक्रममा राशिद खान र कमलसिंह ऐरीले उत्कृष्ट प्रर्दशन गर्दै नेपाललाई विशाल योगफल सम्म पुर्याए। यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले समान ३ विकेट लिए । कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीको नाममा १ विकेट रह्यो । समुह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि समुह चरणबाटै बाहिरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६