विराटनगर । प्रदेश सरकारको लागानीमा प्रदेश नम्बर–१ को पहिलो प्रादेशिक सडक निर्माणको सोमबार शिलान्यास गरिएको छ ।
प्रदेशको स्थायी राजधानी जोड्ने विराटचोक–घिनाघाट २० किलोमिटरको चार लेनको सडक शिलान्यास गरिएको हो । २२.५ किलोमिटर सडकलाई ३ वटा प्याकेजमा विभाजन गरिएको छ। जसमध्ये २ वटा १०/१० किलोमिटरको सडक ठेक्कामा लागेको भए पनि बाँकी रहेको २.५ किलोमिटर सडकको भने ठेक्का लगाउने प्रक्रियामा रहेको मोरङको पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए।
कुल २२ किलोमिटर लामो सडकमध्ये दुवैतर्फको पहिलो चरणमा ठेक्का लागेको १०/१० किलोमिटर सडक निर्माणको मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरे ।
विराटनगर–घिनाघाट जोड्ने यो सडक आउँदो असोजबाट विस्तार गरी चार लेनको बनाइने छ ।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले विराटचोक–घिनाघाट जोड्ने सडक निर्माणले पूर्व–पश्चिम राजमार्गबाट प्रदेशको राजधानी जान सहज हुने बताए ।
उनले प्रदेश सरकारको लागानीमा पहिलो प्रादेशिक सडक निर्माणको काम अघि बढेसँगै अब प्रदेशको समृद्धिको ढोका खोल्ने विश्वाससमेत व्यक्त गरे ।
दुईवटा प्याकेजको ठेक्का भने गत असार ३१ गते सम्झौता भएको हो । सम्झौता अनुसार आगामी २०७७ साल असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।
सडक निर्माणको काम भने असोज १ गतेदेखि सुरु हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। वस्ती भएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ ।
सेन्टर पोइन्टबाट ३५/३५ फिट कालोपत्रे हुने र दुवै छेउमा १०/१० फिट टाढा छोडेर मात्रै निजी घर निर्माण गर्न पूर्वाधार विकास कार्यालय मोरङले अनुरोध पनि गरेको छ। दुवै प्याकेजको ठेक्का श्रेष्ठ रमण एपेक्स जेभीले लिएको हो।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६