काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक बत्तीको व्यवस्थापन गर्ने योजना अघि सारेको छ ।
महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाडौं उपत्यकाको सडकको लाइट व्यवस्थापनको कामलाई आफूले उच्च प्राथमिकता दिने बताएका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले साेमबार आयोजना गरेको पत्रकार सम्मेलनमा आधुनिक राजधानी निर्माणका लागि उपत्यकामा दिनानुदिन बढ्दै गएको ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम् प्रयोग गरिने बताइएको हो ।
केही दिनअघि मात्र महाशाखामा सरुवा भएर आएका ढकालले आफ्नो कार्यकालमा ट्राफिक समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधानमा तदारुकता देखाउने बताए ।
सरोकारवाला निकायसँग सहकार्य गर्दै व्यवहारमा विनम्रता, कानुन कार्यान्वयनमा कडाइ गरिने छ , उनले भने । ट्राफिक नियमको पालना आम नागरिकको चाहना रहेको भन्दै सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
महाशाखा प्रमुख ढकालले चाँडो नै उपत्यकाका हरेक चोकमा ट्राफिक बत्ती जडान गरिने बताए । प्रहरी सङ्गठन प्रमुखको चाहनाअनुसार सम्बन्धित निकायसँगको सहकार्यमा छिट्टै उपत्यकामा ट्राफिक बत्ती जडान गर्ने छौँ, उनले भने ।
विगतमा भएका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी नयाँ कार्यक्रमलाई महाशाखाले अगाडि सार्ने उनको भनाइ थियो । उपत्यकाको ट्राफिक व्यवस्थापनका क्रममा देखिएको पार्किङ अभाव, ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति, साना पुराना र बढी धुवाँ फाल्ने सवारी साधनलाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गरेर समस्याको समाधान गरिने महाशाखा प्रमुख ढकालले बताए ।
काठमाडौँ उपत्यकामा हाल दुई हजार १४ किलोमिटर सडकमा झण्डै १० लाख सवारी साधन ओहोरदोहोर गर्दै आइरहेका छन् । एक ट्राफिक प्रहरीले १.५ किलोमिटर सडक तथा ९ सय सवारी साधनको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६