काठमाडौं । नाडेज्दा कप फुटबलअन्तर्गत भएकाे दोस्रो खेलमा नेपाली महिला फुटबल टोली उज्वेकिस्तानसँग पराजित भएको छ ।
सोमबार भएको खेलमा केही राम्रा अवसर खेर फाल्दा नेपाल गोलविहीन भएको हो। पहिलो हाफको ३४ औँ मिनेटमा गोल गर्दै अग्रता बनाएको उज्वेकिस्तानले दोस्रो हाफमा थप एक गोल गरेको हो । ४९ औँ मिनेटमा भएको गोलमा नेपाली डिफेन्सको तालमेल बिग्रिएको फाइदा उज्वेकिस्तानले उठाएको थियो।
नेपालले गोल गर्ने प्रयास गरे पनि गोल भने हुन सकेन । आजको खेलमा नेपाली टोलीकी कप्तान निरु थापा खेलमा चोट बोक्दै पहिलो हाफमा मैदान बाहिर गएपछि नेपालाई केही असर परेको थियो ।
नेपालले तेस्रो खेलमा मंगलबार ताजिकिस्तानसँग खेल्ने छ। बुधबार एक दिन मात्रै विश्रामपछि तेस्रो स्थानका लागि हुने खेलसँगै फाइनल खेल बिहीबार हुने छ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६