काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यका पिता यामप्रसाद आचार्यको ६९ वर्षको उमेरमा आज बिहान कीर्तिपुरस्थित निवासमा निधन भएको छ ।
अर्घाखाँचीमा जन्मिएका दिवंगत आचार्यका श्रीमती, एक छोरी र दुई छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।
आचार्यको श्रद्धाञ्जलीका लागि सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत नेता र पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए ।
यसैबीच महासंघका महासचिव रमेश विष्ट तथा प्रेस सङ्गठन, नेपालका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले अलग अलग शोक वक्तव्य जारी गरी आचार्यको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६