काँकडभिट्टा । काँकडभिट्टका बासिन्दा यतिबेला आन्दोलनमा छन् । यो आन्दोलनको उद्देश्य एउटै छ–भारतको सिलगुढीबाट सिधै काठमाडौंसम्म बस चल्नु हुँदैन । यसका लागि उनीहरुसँग एउटै कारण छ– त्यसरी सिलगुढी–काठमाडौं सिधा बस सञ्चालन भए सीमावर्ती बजार काँकडभिट्टाको आर्थिक कारोबार डामाडोल हुन्छ ।
‘पर्यटन वर्ष–२०२०’ सफल बनाउनका लागि १५ दिन अघिदेखि भारतको सिलगुढीदेखि काठमाडौँसम्म सिधा बस सञ्चालन भइरहेको छ । तर काँकडभिट्टाका उद्योगी, व्यवसायी भनजे यो निर्णयमा सहमत हुन सकेका छैनन् । उनीहरु चाहन्छन्– भारत हुँदै आएका पर्यटक सीमावर्ती बजार काँकडभिट्टा ‘ट्रान्जिट’ हुँदै आऊन् । यसले यहाँको बजारमा कारोबार बढ्छ ।
स्थानीय व्यापारी तथा सरोकारवालाहरुले ‘काँकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरोधका कार्यक्रम गर्न थालेका छन् । नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक सहर काठमाडौँमा कुनै पनि महत्व नभएको सहर सिलगुढीबाट सिधै बस चल्नु नेपाल–भारत सम्झौता विपरीत हुने उनीहरुको तर्क छ ।
सन् २०१४ को डिसेम्बरमा नेपाल–भारत मैत्री बस सञ्चालनबारे दुई देशबीच सम्झौता भएको थियो । त्यसमा एक देशको राजधानीदेखि अर्को देशको राजधानीसम्म या पर्यटकीय र धार्मिक सहरबाट अर्को धार्मिक/पर्यटकीय सहरसम्म बस सञ्चालन गर्ने भनिएको थियो । यसबारेमा १ नम्बर प्रदेशका सांसद् श्रीप्रसाद मैनाली भन्छन्, ‘राजधानीदेखि राजधानीसम्म या पर्यटकीय र धार्मिक शहरबाट सञ्चालन गर्ने भनेर सम्झौता भए पनि अहिले त्यसविपरीत बस सञ्चान भएकाले स्थानीय विरोधमा उत्रिएका हुन् ।’
‘कोलकत्ता, गुहावटीदेखि काठमाडौँसम्म सञ्चालन गरे हाम्रो आपत्ति छैन । नेपाल र भारत सरकारबीच सम्झौता भइसकेको छ’, सांसद् मैनाली भन्छन्, ‘तर सम्झौताविपरीत भारतका महत्वहीन सहरबाट काठमाडौँजस्तो ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा सिधै बस सेवा सञ्चालन गर्न पाइँदैन । तत्काल यसलाई स्थगित गरिनुपर्छ ।’
उनले केन्द्रीय र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएको बताए । पूर्व यातायात व्यवसायीसमेत रहेका मैनाली नेपालमा धेरै गाडी व्यवसायी भए पनि भारतीय गाडीसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै यस सेवाले राजस्वमा समेत प्रभाव पार्ने बताउँछन् ।
झापा जिल्ला ट्राभल्स संघका अध्यक्ष निरबहादुर कार्कीले बस सेवाले पर्यटन प्रवद्र्धनमा सहयोग नपुग्ने बताउँदै पूर्वी क्षेत्रमा असर पुग्ने बताए ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले सो बसको सीमा नाकामा सामान्य चेकजाँच गर्ने गरेको बताए । उनले भने, ‘अध्यागमनले जस्तो उसका परिचय खुल्ने कागजात हेर्न मिल्दैन । शंका लागेमा सामान्य मानिसलाई जस्तै सामानको चेकजाँच गर्छौं ।’ राससको सहयोगमा
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६