काठमाडौं । समाजवादी पार्टी नेपालकी नेतृ हिसिला यमी चढेको स्कुटर दुर्घटना हुँदा यमी घाइते भएकी छिन् ।
आइतबार ललितपुरको ग्वार्कोमा एउटा मोटरसाइकलले उनी चढेको स्कुटरलाई ठक्कर दिएका थियो । पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी हुन जाँदै गर्दा उनी दुर्घटनामा परेकी हुन् ।
घाइते यमीलाई ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । यमीको शरीरमा घाउ चोट नदेखिए पनि टाउकोमा असर परेको चिकित्सकहरुले बताएका छन् । दुर्घटनाको केही समय यमीको स्मरण शक्ति हराएको बताइएको छ । हाल उनी सामान्य अवस्थामा फर्किएको र भोलि मंगलबार डिस्चार्ज हुने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
उनकी निजी सुरक्षा गार्ड मनिषा लामाले स्कुटर चलाएकी थिइन् । उनको खुट्टामा सामान्य चोट लागेकामा उपचारपछि आइतबार नै डिस्चार्ज भइसकेकी छिन् ।
यमीको स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही सुरु गरेको जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६