झापा । झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विस्फाेट गराएको छ ।
विस्फाेटका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति साढे १२ बजेतिर अज्ञात समूहले बम विस्फाेट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको हो । कार्यालयभित्र समेत अन्य शङ्कास्पद वस्तु हुनसक्ने भन्दै चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली बोलाएको बताइएको छ ।
यता बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विस्फाेट भएको छ । सहकारीको मूल गेटमा शक्तिशाली बम विस्फाेट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ ।
एकै समयमा दुवैतर्फ बम विस्फाेट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्लव)का कार्यकर्ताले बम विस्फाेट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । तर घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् । यसअघि बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत बम विस्फाेट भएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६