दर्शकले रुचाएकाे टेलीश्रंखला भद्रगोल रोकिएको करिव छैटौ हप्तापछि पुन: सुरु भएको छ । तर पुराना कलाकारलाई विस्थापित गर्दै सुरु गरिएको भद्रगोलकाे नयाँ एपिसोड हेरेर दर्शक भने असन्तुष्ट बनेका छन् ।
नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले र अशोक धितालले लिएका छन् । नयाँ टिमले सुरु गरेको भद्रगोलको २ सय २० औ एपिसोडले युट्यूवमा लाइक भन्दा धेरै डिसलाइक पाएको छ ।
यो समाचार तयार पार्दासम्ममा यूट्यूवमा सो एपीसोडमा १७ हजार लाइक छ भने २० हजार डिसलाइक देखिएको छ। साथै ११ हजार भन्दा बढी प्रतिक्रियाहरुमध्ये अधिकांश नकारात्मक छन् । अधिकांसले पुरानो टिमलाई फर्काउने माग गरेका छन् ।
जिग्री र पाँडे अदालत जाने
भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले मिडिया हबले अन्याय गरेको भन्दै अदालत जाने बताएका छन् । कुमार कट्टेल र अर्जुन घिमिरेको समूहले शुरु गरेको यो हाँस्य टेलिशृंखला भद्रगोल नयाँ कलाकार सहित मिडिया हबले प्रसारणमा ल्याएपछि मिडिया हब र जेपिटी (जिग्री पाँडे टिम) क्रियशनकोे विवाद सतहमा देखिएको छ ।
भद्रगोलको नयाँ कलाकार सहित प्रसारित नयाँ भागमा पुरानै भद्रगोलको निरन्तरता हो भनेर देखाउन खोजिएको छ । यसले पुराना समूह चिढिएका छन् ।
भद्रगोलका लेखक तथा कलाकार जिग्रीले कलाकार र सर्जकलाई ढाँटेर मिडिया हबले भद्रगोल आफ्नो ट्रेडमार्क बनाएकाे तथा पारिश्रमिक पनि निदनुका साथै नयाँ एपिसोडमा हामीले निर्माण गरेको पुरानो भागको क्लिप राख्नुका साथै शीर्ष गीत समेत सर्जकलाई थाहा नदिई राखेकोले अदालत जाने बताए ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६