काठमाडौं । वीरगन्जमा भएकाे इसिड आक्रमणकाे विषयले संसदमा प्रवेश पाएकाे छ । आइतबार बसेकाे प्रतिनिधिसभा बैठकमा जुलीकुमारी महताेले वीरगन्जकी मुस्कान खातुनमाथि भएकाे एसिड आक्रमणबारे कुरा उठाउँदै विराेध जनाएकी हुन् ।
सांसद महताेले प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ अभियान चलाउने तयारी गरिरहँदा बेटी नै एसिडको सिकार भएपछि साे अभियान केका लागि भनेर परश्नसमेत गरिन् । घाइते खातुनको स्वास्थ्यलाभको कामना गर्दै सरकारलाई उचित क्षतिपूर्ति दिलाउन उनकाे माग थियाे ।
यसैगरी सांसद् प्रदीप यादवले मुस्कानका अभिभावककाे आर्थिक अवस्था कमजाेर भएकाले उपचारमा समस्या भएकाे जानकारी गराए । उनले खर्च अभाव भएपछि अाफैँले ५० हजार रुपैयाँ सहयाेग गरेकाे बताएका छन् ।
यसैगरी, नरमाया ढकालले एसिड आक्रमणको घटनाको भर्त्सना गर्दै दाेषीलाई नियन्त्रणमा लिई तत्काल कानुनी कारबाही गर्न माग गरिन् । पार्वता डिसी चौधरीले मुस्कान खातुनको उपचार खर्च व्यहोर्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
पार्वतीकुमारी विशुंखे, प्रमिला राई लगायतले एसिड आक्रमणको घटनाको भर्त्सना गर्दै घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
गएकाे शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगन्ज महानगरपालिका छप्कैयामा मामा घरमा बस्दै आएकी १५ वर्षिया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६