नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बंगलादेशलाई २६२ रनकाे लक्ष्य दिएकाे छ ।
८ विकेटकाे क्षतिमा नेपालले २६१ रन बनाएकाे हाे । नेपालका लागि ओपनर पवन सरार्फले सर्वाधिक ८१ रनको महत्वपूर्ण योगदान दिए । ४२ ओभरको दोस्रो बलमा मृत्तुनजोय चौधरीले कप्तान अकबर अलीबाट क्याच आउट गराउनु अघि पवनले १ सय ११ बलमा ८१ रन बनाएकाे हाे ।
नेपाललाई विशाल योगफल सम्म पुर्याउन सन्दीप जोराले विश्फोटक इनिङ खेले । ३८ ओभरको दोस्रो बलमा कप्तान रोहित कुमार पौडेल आउट भएपछि मैदान छिरेका सन्दीप जोराले ३७ बलमा समान ३ चौका र छक्का सहित ५६ रनको आक्रमक इनिङ खेले । भिम सार्की २१ रनमा आउट भए ।
पहिलो विकेटका रुपमा १४ ओभरको पाँचौ बलमा ओपनर रित गौतम ३२ रनमा बोल्ड आउट भए । १७ ओभरको अन्तिम बलमा विकेटकीपर आशिफ शेख १२ बल खेली ३ रन जोड्दै क्याच आउट भए । सुस्त गतीमा सुरुवात गरेको नेपाललाई आक्रमक शैलीमा प्रस्तुत हुँदै कुशल मल्लले केहि इनिङ उकास्न खोजे । तर कुशल लामो समय मैदानमा टिक्न सकेनन् ।
२७ ओभरको पाँचौ बलमा ठूलो सटको धुनमा क्याच आउट हुनुअघि कुशलले ३२ बलमा ३ छक्का र १ चौका सहित २८ रनमा क्याच आउट भए । कप्तान रोहित कुमार पौडेल १४ रनमा क्याच आउट भए । राशिद खान ६ रनमा आउट हुँदा कमलसिंह ऐरी १ छक्का सहित ४ बलमा ९ रनमा अविजित रहे ।
बंगलादेशका लागि मोहम्मद तानजिम हसन र शाहिन आलमले समान २ विकेट लिए । मुत्तुनजय चौधरी,रकीबुल हसन ,शामिम हसन र तोहीद हृदोयको नाममा समान १ विकेट रह्यो ।
सेमिफाइनलमा पुग्ने यात्रा कायमै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने हुन्छ । नेपाल पहिलो खेलमा शुक्रबार आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६