युरोकप छनोटमा विश्वविजेता फ्रान्सले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले अल्वानियामाथि ४–१ को फराकिलो जित निकालेको हो ।
पार्क दि फ्रान्स पेरिसमा भएको खेलमा घरेलु टोलीलाई जिताउने किङ्सले कोमानले दुई तथा ओलिभर जिरुउड र जोनाथन इकोनेले समान १ गोल गरे । अल्वानियाका सोकोल सिकालेसीले सान्त्वना गोल फर्काए ।
खेलको शुरुवातदेखि नै अल्वानियालाई दवावमा राखेको फ्रान्सले खेलको आठौं मिनेटमा नै कोमानको गोलबाट खेलमा अग्रता लिएको थियो । २७ औं मिनेटमा जिरुउडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
३७औं मिनेटमा एन्टोइन ग्रिजमन पेनाल्टीमा चुके । ६८औं मिनेटमा कोमानले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले खेलमा ३–० को आरामदायी अग्रता बनायो । ८५औं मिनेटमा जोनाथनले नविल फेकिरको पासमा गोल गर्दै फ्रान्सलाई ४–० को फराकिलो जितको बाटो डोर्याए । ९०औं मिनेटमा सोकोल सिकालेसीले पेनाल्टीमा सान्त्वना गोल फर्काए ।
जितसँगै समूह ‘एच’ मा फ्रान्स १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अल्वानिया ६ अंक जोडेर चौथो स्थानमा छ ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६