काठमाडाैं । गत वर्ष परीक्षाअघि नै दुई विषयको प्रश्नपत्र सार्वजनिक भएपछि आलोचित बनेको त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन कार्यालयले यसपटक गलत प्रश्न सोधेको छ । शुक्रबार भएको एमएड प्रथम सेमेस्टरको एडभान्स एजुकेसन साइकोलोजी (एड ५१३) विषयको परीक्षामा फाउन्डेसन अफ एजुकेसनको प्रश्न सोधेको हो ।
यिनै प्रश्न सोधिएको फाउन्डेसन अफ एजुकेसनको परीक्षा यसअघि नै सम्पन्न भइसकेको छ । शुक्रबारको परीक्षाका लागि प्रश्नपत्रमा उल्लेख विषय र कोड सही भए पनि प्रश्न अर्कै विषयका देखेपछि देशभरका ७४ परीक्षाकेन्द्रमा परीक्षा दिन गएका विद्यार्थीले विरोध गरेका थिए । विद्यार्थीको विरोधपछि कमजोरी थाहा पाएको डिन कार्यालयले तत्काल इमलेमार्फत पुनः अर्को प्रश्न पठाएर कतिपय केन्द्रमा परीक्षा सञ्चालन गर्न लगाएको थियो । तर, केही केन्द्रमा भने परीक्षा रद्द नै भएको छ । फरक विषयको प्रश्न बनाएर पहिलो कमजोरी गरेको डिन कार्यालयले गल्ती ढाक्ने नाममा तत्काल नयाँ प्रश्न पठाएर केही केन्द्रमा परीक्षा गराउँदा झन् समस्या निम्तिएको छ । कतिपय केन्द्रमा परीक्षा रद्द भएकाले सबै ६ हजार विद्यार्थीको परीक्षा के हुने अन्योल छ ।
शिक्षाशास्त्र संकायका परीक्षा हेर्ने सहायक डिन बलराम रायले विषयगत प्रश्नमा त्रुटि भएको स्वीकार गरे । तर, वस्तुगत विषयमा समस्या नभएको उनको भनाइ छ । तालिमप्राप्त अनुभवी कर्मचारीको अभाव रहेको र धेरै दबाबमा परीक्षाको काम गर्दा पनि त्रुटि हुने गरेको उनको दाबी छ । डिन कार्यालयले अध्ययन समितिसमेत बनाइसकेको छ । त्रिविको स्नातकोत्तर तह र सेमेस्टर प्रणालीमा सञ्चालन भएका कार्यक्रम डिन कार्यालयले सञ्चालन गर्दै आएको छ ।
अघिल्लो वर्ष भदौमा भएको स्नातकोत्तर तहको परीक्षामा तीन दिनमा दुई विषयको प्रश्नपत्र बाहिरिएका थिए । पहिलो सेमेस्टरको साइकोलोजी र फाउन्डेसन अफ एजुकेसनको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र तयार पार्ने र त्यसको मोडरेसन गर्ने विषय समितिको अध्यक्षबाटै प्रश्नपत्र बाहिरिएको खुलेको थियो । साइकोलोजीको प्रश्नपत्र प्रा. होमनाथ भट्टराईले तयार गरेका थिए, फाउन्डेसन अफ एजुकेसनको प्रश्नपत्र पनि उनकै पुस्तकमा प्रकाशित प्रश्नपत्रको हुबहु थियो । त्रिविको शिक्षाशास्त्र संकायले सञ्चालन गर्ने परीक्षामा लापरबाही हुँदासमेत कडा कारबाही नहुनुले विकृति मौलाउँदै गएको प्राध्यापकहरूको गुनासो छ ।
प्रिन्टिङमा गल्ती भयो : बलराम राय सहायक डिन, शिक्षाशास्त्र संकाय, त्रिवि
एड्भान्स एजुकेसन साइकोलोजीको विषयको विषयगत प्रश्नमा समस्या भयो । प्रिन्टिङमा गल्ती भएको हो । नयाँ डिजिटल मेसिन प्रयोगमा ज्ञान भएकाले पनि गल्ती भयो । तर, हामीले तत्कालै सच्याएर आधा घन्टामै अर्को प्रश्नपत्र परीक्षाकेन्द्रमा पठायौँ । ७४ परीक्षाकेन्द्रमध्ये एउटामा मात्र परीक्षा नभएको हामीलाई जानकारी आएको छ । कीर्तिपुरमा बाहिरबाट गएका विद्यार्थीको अवरोधका कारण परीक्षा हुन सकेन । परीक्षा दिइरहेकाहरूलाई पनि तानेर बाहिर निकालेको भन्ने छ । त्यहाँ सात सय परीक्षार्थी रहेको सूचना आएको छ । तालिकाअनुुसारको परीक्षा सकिएपछि अर्को व्यवस्था गरेर ती विद्यार्थीको परीक्षा लिने आश्वासन दिएका छौँ । त्यसका लागि अध्ययन समिति पनि गठन भएको छ । समितिले रिपोर्ट दिएपछि बोर्डले निर्णय गर्छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६