काठमाडौं । मुलुकमा देशभरिका निजामती कर्मचारीले आज आइतबार निजामती सेवा दिवस मनाउँदै छन् । निजामती सेवामा सक्षम, उत्कृष्ट कर्मचारी भए पनि सेवा प्रभावकारी बन्न नसकेको गुनासो आइरहेको छ ।
सरकारका नीति कार्यान्वयन गराउने संस्थाका रुपमा रहेको निजामती प्रशासनले खासै विकास निर्माणमा समेत भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ । पूर्वमुख्यसचिव विमल कोइराला नेपालको निजामती सेवाले सोचेको जस्तो काम गर्न नसकेको बताउँछन् । मुलुकको विकास र जनताको सेवासँग प्रत्यक्ष संलग्न निजामती सेवा जुन ढङ्गले काम गर्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ छ । ‘निजामती सेवाले सरकार कस्तो छ भन्ने छनक दिने गर्नुपर्दछ’, उनले भने, ’राजनीतिले निजामती सेवालाई थिलोथिलो पारेकाले काम गर्न सकेको छैन । जसले गर्दा जनताबाट निजामती सेवा आरोपित छ ।’
विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि सेवा दिवस मनाउन थालिएको हो । प्रशासनको मेरुदण्डका रुपमा रहेको निजामती अन्य सेवालाई समेत निर्देशन र नियमन गर्ने भए तापनि सोच जस्तो काम गर्न सकेको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बरालले नेपालका निजामती प्रशासन सक्षम भए पनि परिमाण देखाउन नसकेको आरोप लाग्ने गरेको बताए । उनले पहिलेको तुलनामा निजामती सेवा सुधारिँदै परिस्कृत हुँदै जनमुखी बन्दै गइरहेको बताए । ‘सरकारको नीतिनियम कार्यान्वयन गराउने प्रमुख निकाय निजामती सेवा भएकाले अहिले निजामती सेवा सुधारिएको छ’, उनले भने, ‘अहिले निजामती सेवाले काम गर्न नसकेको भन्ने आरोप लाग्ने गरेको छ ।’
प्रशासनविद् शारदाप्रसाद त्रिताल नेपालको कर्मचारी प्रशासन दिशाहीन भएको बताउँछन् । उनले सरकारले नै कर्मचारीतन्त्र कस्तो बनाउने भन्ने कुनै योजना नभएकाले दिशाहीन बाटोमा हिँडेको बताए । मुलुकका कर्मचारीतन्त्रलाई सही दिशामा हिँडाउनका लागि शक्तिशाली आयोग बनाएर काम गर्नुपर्ने उनको भनाइ छ ।
पूर्वप्रशासक त्रितालले नेपालका कर्मचारी सक्षम भए पनि सोचअनुसारको काम गर्न नसकेको बताए । उनी सरकारका मन्त्रीले सचिवसँग मन्त्रालयको एक वर्षको कार्यसम्पादन सम्झौता गर्ने तर ती सचिव सम्झौता भएको एक महिना नै नबित्दै अन्यत्र सरुवा हुनाले सम्झौता गरेको काम पूरा नहुने बताउँछन् ।
प्रशासनविद् त्रितालले कर्मचारी रहुन्जेल राजनीतिक पार्टीको सदस्य र अवकाशपछि पनि विभिन्न निकाय, आयोग र राजदूतमा नियुक्तिका लागि राजनीतिक दललाई समात्ने गरेकाले कर्मचारीतन्त्रमा समस्या देखिएको बताए । राजनीतिक दल र सरकारले कर्मचारीलाई बाटो देखाएर मुलुकको विकासमा लगाउनुपर्ने उनको भनाइ छ ।
पूर्वप्रशासक भीमदेव भट्ट अहिलेको निजामती कर्मचारी कमजोर रहेकाले सुशासन दिन नसकेको बताउँछन् । ‘जनताले जस्तो सेवा पाउनुपर्नेमा त्यो पाएका छैनन्’, उनले भने, ‘प्रशासनमा राजनीति हाबी छ ।’
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल नेतृत्वका कारण निजामती सेवा सुधार हुन नसकेको बताउनुहुन्छ । उनले बदलिँदो परिस्थितिअनुसार निजामती कर्मचारीको क्षमता विकास गर्न सरकारले गर्न नसकेको हुनाले सेवा सोचेको जस्तो हुन नसकेको बताए । पोखरेलले यस वर्ष संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरे पनि परिणाममुखी नभएको बताए ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६