ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा वामपन्थी समूहका अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी अध्यक्ष निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ।
नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रति प्रतिनिधित्व भएको छ । महासचिवमा सरिता लामा विजयी भइन् । उनले कर्मा शेर्पालाई १३ मतले पराजित गरिन्। वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा दामोदर ढकाल निर्वाचित भएका छन्। कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ र महिला सदस्यमा ङिमा दिकी शेर्पा निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यमा ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ, सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले र सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्।
को हुन अध्यक्ष खुम बहादुर सुवेदी ?
२०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्ववतीय पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका सुवेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि., ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक हुन् ।
टानको बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भएर काम गरिसकेका उनी पर्यटन व्यवसायीमात्रै होइन नियात्राकार समेत हुन् । ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृति हुन् ।
सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशहरुको भ्रमण गरेका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६