नेपालगन्ज उपमहानगरपालिकाद्वारा दैलेख पठाइएका तीन सय ७० मध्ये ३६ गाई सुर्खेतका विभिन्न स्थानमा मृत फेला परेको घटनाबारे अहिले अनुसन्धान भइरहेको छ।
यसैबीच जिल्ला समन्वय समिति (जिसस) दैलेखले नेपालगन्जबाट गाई मगाएको चिठी सार्वजनिक गरेसँगै घटनाले नयाँ मोड लिएको छ। दैलेखका विभिन्न स्थानीय तह र धार्मिक संस्थाले भने विज्ञप्ति नै जारी गरेर आफूहरूले गाई नमगाएको बताइसकेका छन्।
गौहत्या घटनामा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, कार्यकारी अधिकृत हरि प्याकुरेललगायत कर्मचारी मुछिएका छन्। चिठी सार्वजनिक भएसँगै जिल्ला समन्वय समिति दैलेख भने उनीहरूको बचाउमा लागेको चर्चा चल्न थालेको छ।
जिसस दैलेखले नेपालगन्ज उपमहानगरपालिकालाई भदौ ८ गते लेखेको ‘स्वच्छ गाई उपलब्ध गराइदिने’ व्यहोराको पत्र सार्वजनिक भएसँगै गाई राजनीतिले नयाँ मोड लिएको हो।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुखलाई सम्बोधन गरेर पठाइएको पत्रमा श्रीस्थान, नाभीस्थान, कोटिला, धुलेश्वर, पादुकालगायत धार्मिक क्षेत्रका साथै नारायण नगरपालिकालगायत स्थानीय तहमा व्यावसायिक गाईपालनका लागि स्वच्छ र पाल्नयोग्य गाई उपलब्ध गराइदिनू भन्ने उल्लेख छ। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६