‘हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले...’
स्व.महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित चर्चित खण्डकाब्य मुनामदनका यी पंक्तिले सिस्नुलाई मानिसको गरिबीसँग दाँजिएको छ। तर अहिले गरिबले उपभोग गर्ने खाद्यन्न धनाढ्यको भान्छामा समेत सिस्नुको परिकार पाक्ने गरेको छ।
सिस्नु अहिले औषधिको रूपमा र ब्याक टु नेचरको सिद्धान्तअनुरुप अर्गानिक खाद्यन्नका लागि धनाढ्यको घरमा समेत सुप वा दाल बनाउन प्रयोग गर्ने गरिएको छ।
सिस्नुको नियमित सेवनले उच्च रक्तचाप, मधुमेह, रक्तअल्पता, पिसाब र पेटसम्बन्धी रोग, हड्डी चर्केमर्केका बिरामी र गर्भवती महिलालाई समेत फाइदा पुर्याउने गरेको कारण धनाढ्यको रोजाइमा परेको हो। हेमोग्लोबिनको मात्रा सिस्नुमा बढी पाइने हुनाले मानव शरीरमा प्रतिरोधात्मक क्षमता बढाउने विज्ञको भनाइ छ।
बैरीलाई ‘तेरो घरमा सिस्नु उम्रियोस्’ भनेर सराप्नेहरू अहिले आफ्नै घर वरपर सिस्नु उम्रेको मन पराउन थालेका छन्। घरछेउमा सिस्नुको बोट राख्नु हुँदैन भन्ने प्रचलनका कारण सिस्नुको बोट फाँड्नेहरू अहिले त्यसको गुण र स्वादका कारण पारखी बनेका छन्। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६