काठमाडौं । एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । नेपालले दिएको १ सय ५९ रनको लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको छ । खेल वर्षाले विथालेपछि प्रति इनिङ ४२ ओभरमा घटाइएको थियो । २९ ओभरमा १ सय १५ रन बनाउँदा २ विकेट गुमाएको नेपालले पछिल्लो १३ ओभरमा ४४ रन बनाइ ७ विकेट गुमायो ।
नेपालको लागि ओपनर रित गौतमले अर्धशतक प्रहार गरे । बलियो श्रीलंकाली बलिङ विरुद्ध डटेर खेलेका उनले ८५ बलमा ४ चौका सहित ५४ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ८० बलमा १ चौका सहित ४७ रन बनाए भने हरि चौहानले २२ रन बनाए ।
बलिङतर्फ श्रीलंकाका नवोद परानाभितानाले ३ विकेट लिएभने दिल्शन मधुशंकाले २ र एशन डेनियलले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको श्रीलंकाले सहजै नेपाललाई हरायो ।
उसका लागि ओपनर कामिल मिशाराले ६२ बलमा ३ चौका र २ छक्का सहित ५५ रन बनाए । त्यस्तै अहान विक्रमासिंघेले ३६ बलमा ३० रन बनाए ।
बलिङतर्फ नेपालको लागि रशिद खानले २ विकेट लिएभने पवन शर्राफ र सागर ढकालले समान १ विकेट लिए । आज भएको अर्को खेलमा बंगलादेशले युएईलाई हराएको छ ।
आज पराजित भएको नेपालले सेमिफाइनलमा स्थान बनाउन अब बंगलादेश र युएईलाई हराउनुपर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६