वीरगन्ज । वीरगन्जमा स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत छपकैया-३ निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।
शुक्रबार बिहान करिब ६ बजेतिर दुई युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए । गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई एसिड छ्यापेर भागेको प्रत्यदर्शीले बताएका छन् ।
खातुन त्यो बाटो भएर विद्यालय जाने-आउने गर्थिन् । विद्यालय पोशाकमै रहेको अवस्थामा उनीमाथि एसिड प्रहार भएको हो । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्याएका थिए ।
उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । उनको नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
घटनाबारे जानकारी पाएलगतै एसिड प्रहार गर्ने युवकको खोजी सुरु गरेको प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगन्ज-२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।
आफूलाई प्रेम नगरेको भन्दै सम्सादले मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी शर्माले जानकारी दिए । उनका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६