नुवाकोट । नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुंगे पुल आफूखुसी बेचेका छन् ।
विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुंगे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ ।
विसं २०२१ मा निर्माण भएको सो पुललाई स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको साटो उल्टै बेच्दा पनि वडाका आम नागरिकलाई केही थाहा नदिएको स्थानीयवासी बताउँछन् । पुराना सम्पदा बेच्दा सार्वजनिकरुपमा निर्णय नगराई बेची दिँदा देवीघाटका स्थानीयवासी दुखित बनेका छन् ।
कबाडीलाई सुरुमा तीन लाख रुपैयाँमा बेच्ने हल्ला भएको र पछि ७० हजारमा मात्र बेचिएको थाहा भएको देवीघाट जाल्पा क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सुरथबहादुर चित्रकारले बताए । उनले भने, पञ्चायत कालमा निकै मिहेनत गरेर पुलको निर्माण गरिएको हो । पछि त्यही पुलसँगै अर्को पक्की पुल निर्माण भएपछि साना ठूला गाडी पक्की पुलबाट र पैदल यात्रु झोलुंगे पुलबाट आवतजावत गर्ने गरेका थिए ।’
बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीले पुल कहाँ कसरी बेचियो भन्ने कुरा आफूलाई थाहा नभएको र रु ३५ हजार भने विदुर नगरपालिका–५ का वडाध्यक्षले तपाईको भाग भनेर पठाएको जानकारी दिए । उनले बेलकोटगढी नपा–८ र विदुर नपा–५ को सिमानामा रहेको झोलुंगे पुल बेच्ने कुनै लिखित निर्णय नभएको बताए ।
त्यस्तै विदुरनगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकारले सो पुल आफूले मात्र नभई बेलकोटगढी नपा–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीसँगको समन्वयमा नै बिक्री गरेको दाबी गरे । गल्छी–त्रिशूली सडक आयोजनाले सडक बनाउँदा पुललाई लथालिङ्ग पारेर छाडेको तथा पुरानो प्रयोगविहीन रहेकाले कवाडीलाई बेचिदिएका हौँ , उनले भने, कबाडीलाई ७० हजारमा बेचेर ३५–३५ हजार दुवै वडाले बाँडेर लिएका थियौँ ।
यता गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी सडक आयोजना कार्यालयले भने सडक बनाउँदा पुललाई छुँदासमेत नछोई सडकको काम गरेको जनाएको छ । विदुर नगरपालिका कार्यालय प्रमुख सञ्जु पण्डित र बेलकोटगढी नगरपालिका कार्यालय प्रमुख राजेन्द्ररमण खनालले आफ्नो नगरमा भएको पुरानो पुल बेचिँदा वडाध्यक्षहरुले नगरपालिकामा कुनै लिखित सूचना नदिएको बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६