सोलु । सोलुखुुम्बूको नाम्चेमा रहेको सीमा प्रशासन कार्यालय महिनौँदेखि बन्द हुँदा सेवाग्राहीहरु मारमा परेका छन् ।
एक अधिकृत र कार्यालय सहयोगी एक जना गरी दुई कर्मचारी कार्यरत कार्यालय लामो समयदेखि बन्द छ । कार्यालय प्रमुख बिदामा बसेपछि अहिले नागरिकता वितरण तथा राहदानी सिफारिसमा समस्या भएको छ ।
त्यहाँ काम नभएपछि सर्वसाधारण तीन दिनको बाटो हिँडेर सदरमुकाम सल्लेरी धाउनुपर्ने बाध्यता छ ।
कार्यालय प्रमुख नवदीप राईले परीक्षा दिन भन्दै साउन मध्यतिर खुम्बू छाडेको र कार्यालय सहयोगी समेत एक हप्तादेखि काठमाडौं बसेकाले सेवाग्राहीले सास्ती खेप्नुपरेको हो ।
कार्यालय बिदामा बसेको भए पनि कुनै पनि निकायमा आधिकारिक बिदा लिएको छैन भने गृह मन्त्रालयमा बुझ्दा नवदीप राईले अन्यत्र जानका लागि सहमति लिइसकेको जानकारी पाएको प्रमुख जिल्ला अधिकारी वेदनिधि नालले बताए । साथै राईसँग सम्पर्क गर्ने प्रयास गर्दा राइको फोन ‘स्विच्ड अफ’ छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६