भद्रपुर । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ ।
विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न सुरु गरेकाले आजदेखि असोज ४ गतेसम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको हो ।
एक हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले मर्मतसम्भार सुरु गरेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए । प्रमुख चुँडालका अनुसार जीर्ण बनेको धावनमार्गको १२ वर्षपछि मर्मतसम्भार गर्न लागिएको हो । गौरी–पार्वती–देव एन्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाखमा ठेक्कामा लिएको उनको भनाइ छ ।
आगामी १५ दिनसम्म तोकिएको समयमा विमानस्थल बन्द हुने छ । धावनमार्गको मर्मत सुरु भएसँगै एअरलाइन्स कम्पनीले नियमित उडानको समय तालिका परिवर्तन गरिसकेको चुँडालले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६